सेयर धितोमा बैंक तथा फाइनान्स कम्पनीहरुको ४० अर्ब ७४ करोड रुपैयाँ कर्जा

काठमाडौं - बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा सेयर धितोमा मात्र ४० अर्ब ७४ करोड ५१ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुले सेयर धितो लिएर मात्र उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुन् । उक्त अवधिमा लघुुवित्त वित्तीय संस्थाबाहेका बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप रकम ३० खर्ब ८४ अर्ब ९० करोड ६३ लाख २० हजार रुपैयाँ रहेको छ भने कुल कर्जा रकम २७ खर्ब ६१ अर्ब ८४ करोड ३२ लाख २० हजार रुपैयाँ पुगेको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुले मात्र २६ खर्ब ७६ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २३ खर्ब ८१ अर्ब १० करोड २९ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा वाणिज्य बैंकहरुले सेयर धितोमा मात्र प्रवाह गरेको कर्जा रकम ३२ अर्ब ८९ करोड ८१ लाख ८० हजार रुपैयाँ रहेको छ ।विकास बैंकहरुले भने सो अवधिमा तीन खर्ब ४१ अर्ब १९ करोड १५ लाख ९० हजार रुपैयाँ निक्षेप सङ्कलन गरी तीन खर्ब आठ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

उक्त अवधिमा विकास बैकहरुले सेयर धितोमा प्रवाह गरेको कर्जा रकम पाँच अर्ब ७४ करोड ७१ लाख २० हजार रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो सात महिनामा ६७ अर्ब ३७ करोड १६ लाख २० हजार रुपैयाँ निक्षेप सङ्कलन गरी ६३ अर्ब ९४ करोड ६९ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । उक्त अवधिमा फाइनान्स कम्पनीहरुले सेयर धितोमा प्रवाह गरेको कर्जा रकम भने दुई अर्ब नौ करोड ९८ लाख ५० हजार रुपैयाँ रहेको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुँजी पछिल्लो सात महिनामा दुुई खर्ब ९८ अर्ब ७३ करोड ५९ लाख १० हजार रुपैयाँ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी दुई खर्ब ४५ अर्ब २३ करोड ९९ लाख ८० हजार रुपैयाँ पुगेको छ भने विकास बैंकहरुको चुक्ता पुँजी ३९ अर्ब ६० करोड ७८ लाख ८० हजार रुपैयाँ पुगेको छ । यसैगरी फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी १३ अर्ब ८८ करोड ८० लाख ५० हजार रुपैयाँ पुगेको छ । 

सेयर बजार पुँजीकरण १४ प्रतिशतले घटेर १३ खर्ब ७७ अर्ब रुपैयाँमा सीमित :- धितोपत्र (सेयर) बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा १४ दशमलव सात प्रतिशतले घटेर १३ खर्ब ७७ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिसम्ममा बजार पुुँजीकरण उक्त अनुुपातमा घटेको हो । बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा २०७४ माघ मसान्तमा १० दशमलव सात प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार बजार पुँजीकरणको अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५ दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६२ दशमलव एक प्रतिशत रहेको थियो । 

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ माघ मसान्तमा दुुई सय तीन रहेको छ । सूचीकृत कम्पनीमध्ये एक सय ४९ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २४ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र चार वटा अन्य समूहका रहेका छन् । स्टकमा चालू आवको पछिल्लो सात महिनामा २९ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएका छन् ।

स्टकका अनुसार १५ अर्ब नौ करोड रुपैैयाँ बराबरको साधारण सेयर, सात अर्ब ३९ करोड बराबरको हकप्रद सेयर, छ अर्ब ६५ करोड बराबरको बोनससमेत गरी उक्त परिमाणमा सेयर सूचीकृत भएका हुुन् । सूचीकृत सेयरहरूको चुक्ता मूल्य २०७५ माघ मसान्तमा तीन खर्ब ८७ अर्ब ६९ करोड रहेको छ । यसैगरी २०७४ माघ मसान्तमा १३ सय ८० दशमलव तीन बिन्दुुमा रहेको नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १८ दशलव तीन प्रतिशतले ह्रास आर्ई २०७५ माघ मसान्तमा ११ सय २८ दशमलव दुुई बिन्दुुमा रहेको छ । २०७५ असार मसान्तमा नेप्से सूचकाङ्क १२ सय १२ दशमलव चार बिन्दु कायम भएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्