बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु

काठमाडौँ - रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरले जिल्लामै पहिलो पटक बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको हो । 

वडा कार्यालयमा आयोजित कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले स्थानीय ९७ बर्षिय नरबहादुर कार्कीलाई दोसल्ला ओढाएर लक्ष्मी बैंकको चेक हस्तान्तरण गरेर यो सेवाको सुरुवात गरेकी हुन् ।

यसैबीच आइतबारै वडा नम्बर ७ सुकाजोरले आर्थिक वर्ष २०७५-७६ को दोस्रो चौमासिकमा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख खड्का, रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरराज दाहाल, वडा नम्बर ७ का अध्यक्ष समिर कार्कीलगायतका जनप्रतिनिधिहरूले सर्वसाधारणले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा वडासचिव टेककुमार रेग्मीले चालु आर्थिक वर्षको दोस्रो चौमासिकभित्रमा १ लाख ५२ हजार १ सय १८ रूपैयाँ राजस्व संकलन भएको, १ सय ४७ जनाको व्यक्तिगत घटना दर्ता गरिएको र सडक खानेपानी सिँचाइ र लक्षित वर्गअन्तर्गतको क्रमशः विनियोजित बजेट १६ लाख ७५ हजार, ५-५ लाख र ११ लाख १० हजारका लागि उपभोक्ता समिति निर्माण गरी काम भइरहेको बताए । कारोबार दैनिकबाट 

प्रतिकृया दिनुहोस्