ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता, ७०० व्यवसायीहरु लाभान्वित हुने अपेक्षा !

global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीहरुसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यवसायीक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा बोल्दै सहायक महाप्रबन्धक रेग्मीले विगत देखिनै ग्लोबल आइएमई बैंक र फलफूल व्यवसायीहरुबीच असल सम्बन्ध रहेको र यस सम्झौताबाट नेपाल बैंक थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायीकसंस्थाबीचको सामिप्यता अझ बढ्ने विश्वास व्यक्त गरे ।

उनले सम्झौतापछि संघ/संस्थामा आबद्घ व्यवसायीहरुले सस्तो, सरल तथा सूलभ ब्याज दरमा कृषि कर्जा प्राप्त गर्न सक्ने भएकोले व्यवसायीहरुलाई यसको भरपूर फाइदा लिन आग्रह गर्दै यसबाट फलफूल तथा तरकारी बजारको थप विकास एवम् बिस्तारमा टेवा पुग्ने धारणा राखे ।

सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थामा आबद् करिब ७०० फलफूल तथा तरकारी व्यवसायीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगत देखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्