ग्लोबल आइएमई बैंकले गर्यो बालविवाह अन्त्यका लागि जोन्टा क्लबलाई पाँच लाख रुपैयाँ सहयोग

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौं - ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लबलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लबकी अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरे । सो सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर करीब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका संचालन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए।महिलाको आर्थिक सशक्तीकरणले सबै किसिमका समस्या समाधानमा सहयोग पुर्याउने बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले यस अभियानलाई आर्थिक सबलीकरण, नेतृत्व विकास र उद्यमशीलतासँग जोड्न आग्रह गरे।

उनले बैंक स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्राकृतिक विपत्ति, जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताए। बालविवाह देशकै एउटा ठूलो समस्या रहेको बताउँदै यस क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको जोन्टा क्लबकी अध्यक्ष ज्योतीले बताईन् । कार्यक्रममा बैंककी सहायक महाप्रबन्धक आरती राणा, जोन्टा क्लबकी सीमा गोल्छा लगायतको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्