सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज कुमार श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव !

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौं - सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज कुमार श्रेष्ठ नियुक्त भएका छन् । जेठ २२ गते बुधबार बसेको बैंककोे सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार आगामी असार २ गतेदेखि कार्यभार सम्हाल्ने गरि सिईओ पदमा श्रोष्ठ नियुक्त भएका हुन् ।

आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकमा जेष्ठ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । सो पदमा बैंकले २२ दिनभित्रै नयाँ सिइओ नियुक्त गर्न सफल भएको हो ।

यसअघि सनराइज बैंकको सीईओको कार्यभार रत्नराज बज्राचार्यले सम्हालेका थिए । बज्राचार्यको चार वर्षे कार्यकाल सकिएपछि कामु सीईओको जिम्मेवारी आशा राणा अधिकारीले सम्हालेकी थिइन् ।

सन् १९८९ देखि बैंकिङ करियर शुरु गरेका श्रेष्ठले बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव संगालिसकेका छन् । श्रेष्ठ यस अघि माछापुच्छ्रे बैंकको सीईओ रुपमा कार्यरत थिए । माछापुच्छ्रे बैंकबाटै श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतका रुपमा डेब्यु गरेका थिए ।

श्रेष्ठले तत्कालीन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा ईस्वी सम्बत १९८९ बाट सेवा प्रारम्भ गरी करिब १३ बर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी उनले एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब ३ बर्ष जिम्मेवारी सम्हालेका छन् । तत्कालीन एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया बैंक लि)मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेका थिए ।

त्यसैगरी श्रेष्ठले ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा र सो पश्चात माछापुच्छ्रे बैक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिकृया दिनुहोस्