ग्लोबल आइएमइ बैंकदेखि सानिमा बैंकसम्म : यी हुन् सरकारी जग्गालाई धितोमा राखेर कर्जा दिने खुरापाती बैंकहरु...

  • बैंकिङ संसार 
काठमाडौँ - देशमा बैंकले गरेका विभिन्न घोटालाहरु एक-एक गरी बाहिर आइरहेका बेला विभिन्न बैंकहरुले सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी अर्बौं रुपैयाँ ऋण दिएको खुलासा पाइएको छ । आफुलाई नाम चलेको बताउने बैंकहरुले नै रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर कर्जा प्रवाह गरेको रहस्य बाहिर आएको छ ।

यसरी सरकारी जग्गा धितोमा राखेर ऋण दिनेहरुमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, साबिकको काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायत छन् ।  यसरी दिइएको ऋण चुक्ता भएको छ वा छैन भन्ने विषय भने अझै अनुसन्धानकै क्रममा छ ।

यता लामो अनुसन्धानपछि तयार भएको प्रतिवेदन अनुरुप व्यक्ति र संस्थाका नाममा बनाइएको ललितानिवासको जग्गा पुनः सरकारको स्वामित्वमा ल्याउने निर्णय फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । २०२१ मंसिर १५ गते सरकारले मुआब्जा दिएर राणा परिवारका ६ वटा दरबार अधिग्रहण गरेको थियो जतिबेला पूर्वप्रधानमन्त्री सुवर्णशमशेरको स्वामित्वको ललितानिवाससहित २ सय ८४ रोपनी १४ आना ३ पैसा जग्गा पनि मुआब्जा दिएर अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको जग्गामध्ये १ सय १३ रोपनी तीन आना  विभिन्न व्यक्तिहरुको मिलेमतोमा २०४९ सालमा व्यक्तिका नाममा बनाइएको रहस्य बाहिर आइसकेको छ । 

प्रतिकृया दिनुहोस्