बाजुराका पाँच स्थानीय तह अझै बैंकविहीन

 Bank
बाजुरा - बाजुराका पाँचवटा स्थानीय तह अझै बैंकविहीन अवस्थामा रहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक स्थापना गर्ने भनिएको भए पनि जिल्लाका पाँच वटा स्थानीय तह अझै बंैकविहीन अवस्थामा छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये हालसम्म त्रिवेणी नगरपालिका, क्षेडेदह गाउँपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिक स्वामीकार्तिक खापर गाउँपालिका बैंक विहीन अवस्थामा रहेका छन् ।

जिल्ला सदरमुकाम रहेको बडिमालिका नगरपालिकाको मार्तडीमा मात्रै विभिन्न ८ वटा बैंकले शाखा विस्तार गरे पनि जिल्लाका अन्य दुर्गम स्थानीय तहमा बैंक नहुँदा भइरहेको छ । बैंकिङ सुविधा नहुँदा नगद कारोबार गर्न समेत टाढा जानुपर्ने, जिल्ला सदरमुकाम गएर खाता सञ्चालन गर्नुपर्ने जस्ता समस्या भइरहेको जगन्नाथ गाउँपालिकाका सूचना अधिकारी गोकर्णराज रेग्मीले बताए ।

उनले भने, ‘सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिनुपर्ने प्रावधान छ । यहाँ बैंक छैन, हामीले घर घरमै पुगेर बाँड्नुपरेको छ ।’

अधिकांश कारोबार बैंकमार्फत गर्नुपर्ने भएका कारण पछिल्लो समय सर्वसाधारण, कर्मचारी र जनप्रतिनिधिहरूलाई समेत समस्या भइरहेको हो । नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा अनिवार्य रूपमा बैंक खोल्नुपर्ने नियम लगाए पनि कारोबार बढी हुने स्थानमा बैंकहरूले धमाधम स्थापना गरे पनि शाखा विकट र दुर्गम मानिने कतिपय स्थानीय तहमा बैंकिङ सुविधा पुग्न सकेको छैन ।

सबै स्थानीय तहमा बैंक नभएकाले स्थानीय तथा सरकारी कर्मचारी सदरमुकाम वा नजिक रहेको अर्को स्थानीय तहको बैंकमा धाउन बाध्य भएका छन् । गाउँपालिकामा हिमालयन बैंकले शाखा विस्तार गर्ने भने पनि अहिलेसम्म विस्तार हुन नसकेको स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेरबहादुर शाहीले बताए ।

बैंक तथा वित्तीय संस्था नहुँदा  सामान्य योजनाको खाता खोल्न कोल्टी मार्तडीलगायतका ठाउँमा जानुपरेको स्थानीयले बताएका छन् । गाउँपालिकामा अझै इन्टरनेट सेवासमेत विस्तार हुन नसकेको कारण बैंक तथा वित्तीय संस्था आउन नचाहेको बैंक अधिकारीहरू बताउँछन् । राजधानी दैनिकबाट 

प्रतिकृया दिनुहोस्