ज्योति विकास बैंक र हाम्रो विकास बैकको एकिकृत कारोबार शुरु, चुक्ता पूँजी ३ अर्व १० करोड पुग्यो !

JYOTI BIKASH BANK
  • बैंकिङ संसार 
काठमाडौँ - ज्योति विकास बैंक लिमिटेड र हाम्रो विकास बैंक लिमिटेड नुवाकोटको एकिकृत कारोबारको सुरुवात भएको छ । राष्ट्रियस्तरको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेको हो । एकिकृत कारोबारको शुभारम्भ एक औपचारिक कार्यक्रम बीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले आजै गरेका छन् । सो अवसरमा ज्योति विकास बैंकले नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ। 

उक्त कार्यक्रमका प्रमूख अतिथि नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले ज्योति विकास बैंक एउटा सबल विकास बैंक भएकोमा हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने विश्वास र बैंकको सफलताको कामना व्यक्त गरेका छन् । 

सो अवसरमा ज्योति विकास बैंकका अध्यक्ष तथा कार्यक्रमका सभापति हरि चन्द्र खड्काले दुई बैंकबीच एकिकृत कारोबार शुभारम्भ भएकोमा खुसी लागेको र थप जिम्मेवारी बढेको बताउदै अझ विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले नागरिकलाई सरल र सहज सेवा प्रदान गर्न १० वर्ष अगाडी स्थापना भएको हाम्रो विकास बैंकले नागरिक र देशको लागि योगदान दिएको र उक्त कार्य अव अझ विस्तारित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पँुजीको हिसावले सबै भन्दा ठुलो विकास बैंक भएको, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउदै लघु कर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६ अर्व ३८ करोड र कर्जा २३ अर्व ५७ करोड पुगेको छ । साथै शाखा संख्या ९५, एटिएमको संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ । 

बैंकको चुक्ता पूँजी ३ अर्व १० करोड पुगेर चुक्ता पूँजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । साथै यसै आर्थिक वर्ष भित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । 

प्रतिकृया दिनुहोस्