नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा चैत १५ मा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा चैत्र १५ गते हुने भएको छ । साधारण सभाका लागि कम्पनीले चैत्र १ गतेदेखि चैत्र १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित १३.५ प्रतिशत बोनस सेयर पाउनेछन् ।

सभामा सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, बोनस सेयरमा लाग्ने कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश पनि स्वीकृत गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्न, अध्यक्ष र सञ्चालकहरुको भत्ता एवं अन्य सुविधा संशोधन गर्ने लगायतका प्रस्ताव पेश गर्दैछ ।

साधारण सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । 

कम्पनीले बोनस सेयर भने गत भदौमा बिक्री गरेको ६० प्रतिशत हकप्रदपछि कायम २ अर्ब ६४ करोड ९७ लाख २३ हजार ३४४ रुपैयाँ चुक्ता पुँजीमा दिन लागेको हो । उक्त पुँजीमा १३.५ प्रतिशत बोनस सेयर दिइसकेपछि पुँजी ३ अर्ब ७४ लाख ३५ हजार ९९५ रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्