वाणिज्य बैंकहरुको खराब कर्जामा सुधार

काठमाडौं - वाणिज्य बैंकहरुको खराब अर्थात् निष्क्रिय कर्जामा सुधार देखिएको छ । बैंकहरुको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको दोस्रो त्रैमासिकमा एकाधबाहेक सबैजसो बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात घटेको छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, माछापुचछ्रे बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकसहितका १० वटा बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात एक प्रतिशतभन्दा तल रहेको छ । यसबाहेकका १० वटा बैंकहरु अर्थात् जनता बैंक, सिटिजन इन्टरनेशनल बैंक लिमिटेड, कुमारी बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंकमा निष्क्रिय कर्जाको अनुपात एक प्रतिशतको हाराहारीमा रहेको छ ।

यसैगरी प्रभु बैैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र बैंक अफ काठमाण्डूमा भने निष्क्रिय कर्जाको अनुपात दुई प्रतिशतको हाराहारीमा रहेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार सिभिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक ९एनसीसी०मा भने निष्क्रिय कर्जाको अनुपात तीन प्रतिशतको हाराहारीमा रहेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा भने कृषि विकास बैंकमा देखिएको छ । पुरानो बैंक र देशव्यापी पहुँच भएकाले पनि हुनसक्छ कृषि विकास बैंकमा निष्क्रिय कर्जाको अनुपात चालू आवको दोस्रो त्रैमासिकमा चार दशमलव ५० प्रतिशत रहेको छ । गत आवको सोेही अवधिमा उक्त बैंकमा निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९५ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकको नियमअनुसार निष्क्रिय कर्जाको अनुपात पाँच प्रतिशतभन्दा नाघ्नुहुँदैन । पाँच प्रतिशतभन्दा बढी कर्जा निष्क्रिय देखिएमा राष्ट्र बैंकले निष्क्रिय कर्जाको अनुपात घटाएर न्यूनतम सीमामा कायम राख्न निर्देशन दिँदै, निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा विस्तारमा रोक लगाउनसक्नेलगायतका सुधारात्मक कारबाही गर्नसक्ने व्यवस्था रहेको छ । निष्क्रिय कर्जाको अनुपात कम हुनुलाई वित्तीयरुपमा सबल भएको एवं संस्थागत सुशासन पनि बलियो भएको संस्थाकोरुपमा लिने गरिन्छ । सोही आधारमा पनि वाणिज्य बैंकहरुले गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको दोस्रो त्रैमासिकमा खराब कर्जाको अनुपात घटाउन सफल भएका हुन् । गत आवको दोस्रो त्रैमासिकमा चार दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको एनसीसी चालू आवको दोस्रो त्रैमासिकमा यस्ता कर्जाको अनुपात घटाएर तीन दशमलव ५३ प्रतिशतमा सीमित राखेको छ ।

यसैगरी सिभिलले पनि गत आवको दोस्रो त्रैमासिकमा चार दशमलव ५२ प्र्रतिशतको सीमामा रहेको निष्क्रिय कर्जालाई घटाएर यस आवको दोस्रो त्रैमासिकमा तीन दशमलव ५० प्रतिशतमा झारेको छ । गत आवको छ महिनामा तीन दशमलव ११ प्रतिशतको हाराहारीमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा भने आंशिकरुपमा बढेर तीन दशमलव ४० प्रतिशत पुगेको छ । यसैगरी प्रभु बैंकले पनि गत आवको दोस्रो त्रैमासिकमा चार दशमलव १२ प्रतिशतको हाराहारीमा रहेको निष्क्रिय कर्जालाई घटाएर यस आवको दोस्रो त्रैमासिकमा दुई दशमलव ४७ प्रतिशतमा सीमित राखेको छ । 

गत आवको पुसमा तीन दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको नेपाल बैंकले पनि यस आवको दोस्रो त्रैमासिकमा निष्क्रिय कर्जाको अनुपात घटाएर दुई दशमलव ७४ प्रतिशतमा सीमित राखेको छ । यसबीचमा नेपाल इन्भेष्टमेन्ट बैंकमा भने निष्क्रिय कर्जाको अनुपात बढेको छ । गत आवको दोस्र्रो त्रैमासिकमा एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा अहिले यस्तो कर्जाको अनुपात बढेर दुई दशमलव चार प्रतिशत पुगेको छ । यसैगरी बैंक अफ काठमाडौंमा पनि निष्क्रिय कर्जा बढेको छ । गत आवको दोस्रो त्रैमासिकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंक अफ काठमाडौंमा अहिले यस्तो कर्जाको अनुपात बढेर दुई दशमलव आठ प्रतिशत पुगेको छ । यीबाहेकका अन्य बैंकहरुमा भने निष्क्रिय कर्जाको अनुपात न्यून देखिएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्