४ वर्षे कार्यकाल पूरा गरेका नेपाल बैंकका सिइओ शाहको सम्मानसहित बिदाई, कामु सिइओको जिम्मेवारी अधिकारीलाई

काठमाण्डौँ - चार वषदेखि नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सम्हाली आफ्नो कार्यकाल पूरा गरेका देवेन्द्रप्रताप शाहलाई बिहीबार एक समारोहका बीच बिदाई गरिएको छ । निवर्तमान सिइओ शाहलाई नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी, नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी र विज्ञ नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले सम्मानित गरे ।

सो अवसरमा सञ्चालक समितिका अध्यक्ष अधिकारीले सिइओ शाहसँग छोटो समयमात्र काम गर्न पाएतापनि उहांको परिपक्व व्यवस्थापन शैलीबाट आफू अत्यन्त प्रभावित भएको बताए । उनले भने–उहाँको कार्यकालमा वित्तीय सवलिकरणमा बैंकले उच्च सफलता प्राप्त गरेको छ ।

सो अवसरमा निवर्तमान सिइओ शाहले नेपाल बंैक बिरामी रहेको र सुधारात्मक काम गर्दा गर्दै ४ वर्षे कायकाल पूरा गरेको बताए । खुद सम्पत्ति, पूँजी पर्याप्तता अनुपात, प्रति शेयर आम्दानी, खुद नाफा लगायतका अधिकांश परिसूचकमा बैंकलाई पाँचौ–छैठौं स्थानमा ल्याउन सकेको भन्दै उनले सन्तोष व्यक्त गरे । यस अवधिमा आफूले गर्न नसकेका कामहरुबारे बैक संचालक समितिलाई सुझाव पेश गरेको उनले बताए । बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण समय आएको बताउँदै उनले भने– आगामी दिनमा नयाँ सोच, खोज र कार्यशैलीका साथ ग्राहक केन्द्रित भई नतिजामुखी ढंगले अघि बढ्नु जरुरी छ ।

आगामी दिनमा योजनाबारे प्रकाश पार्दै शाहले आफू एक लेखक पनि भएको र यस बैंकमा आएपछिका सुनौला १४६० दिनमा हरेक दिन केही न केही लेखेको बताए । अब ती लेखिएका कुराहरु सम्पादन गर्ने र जीवनको लामो खण्ड व्यावसायिक व्यस्ततामा बिताउँदा पारिवारिक सामाजिक जीवनमा पूर्ण मानिस बन्न नसकेकोमा बताउँदै भने(अब पूर्ण मानिस बन्ने प्रयत्न गर्नेछु ।

उक्त कार्यक्रममा बैकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक लिमिटेडलाई वित्तीय हिसावले सवल र गतिशील बनाउन निवर्तमान प्रमुख कार्यकारी अधिकृत शाहले पुर्याएको योगदानको चर्चा गरे । उनले आगामी दिनमा बैंकको प्रमुख सद्भाव राजदूतको भूमिका निर्वाह गरिदिन शाहलाई आग्रह गरे ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजनमा प्रवन्धक अश्विनकुमार पुडासैनीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा बैक संचालक समितिका सदस्यहरु, सहायक प्रमुख कार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंकमा कार्यरत यूनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

शाहले खुल्ला प्रतिष्पर्धाबाट २०७१ चैत ११ गते नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल यही चैत ११ गते सकिएको थियो ।

प्रतिकृया दिनुहोस्