एसियाली विकास बैंकद्वारा ६७ अर्बको सहयोग प्रतिबद्धता

काठमाडौं - एसियाली विकास बैंक (एडिबी)ले सन् २०१८ मा करिब ६७ अर्ब रुपैयाँ (६० करोड अमेरिकी डलर)का नयाँ परियोजनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यससँगै बैंकले नेपालमा सञ्चालन गरिरहेका परियोजनामा सहयोग रकम करिब ३ खर्ब १४ अर्ब रुपैयाँ (२ अर्ब ८० करोड अमेरिकी डलर) पुगेको छ । ‘सन् २०१८ मा एडिबीले नेपालमा इतिहासकै सबैभन्दा बढी ऋण प्रदान गरेको छ,’ बैंकका दक्षिण एसिया हेर्ने उपमहानिर्देशक दिवेस शरणले भने, ‘नेपालको आर्थिक विकासमा बैंकले सहयोग बढाइरहेको यसले देखाउँछ, मुलुकमा संघीयता कार्यान्वयन भइरहेको सन्दर्भमा यो निकै महत्वपूर्ण छ ।’ 

सन् २०१४ देखि १६ को बीचमा प्रतिवर्ष एडिबीको सहयोग २५ करोड अमेरिकी डलर हाराहारीमा हुन्थ्यो । एडिबीले हाल नेपालमा कुल ३६ वटा परियोजना सञ्चालन गरिरहेको छ । त्यसमा परिचालन भएको सहयोगमध्ये ७२ प्रतिशत पूर्वाधार क्षेत्रमा केन्द्रित छ । 

खर्च भने निराशाजनक 
एडिबीले सहयोगको प्रतिबद्धता बढाए पनि दिएको सहयोगको खर्च भने निराशाजनक देखिएको छ । उसको सहयोगको चालू परियोजनामा जम्मा ३९ प्रतिशत मात्रै खर्च भएको छ । कुल ३ खर्ब १४ अर्बको विद्यमान सहयोगमध्ये सन् २०१८ को अन्त्यसम्म १ खर्ब २१ अर्ब रुपैयाँ मात्रै खर्च भएको हो । गत वर्ष २०१८ मा जम्मा २७ अर्ब ६३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । त्यो लक्ष्यको ८० प्रतिशत मात्रै भएको शरणले बताए । सन् २०१८ मा भएको खर्च अघिल्लो वर्षको भन्दा कम हो । त्यस्तै, धेरै दक्षिण एसियाली मुलुकको तुलनामा पनि नेपालको प्रगति कम हो । 

‘एडिबीले सन् २०१८ मा नेपाललाई इतिहासकै सबैभन्दा धेरै सहयोग गरे पनि त्यसमा अझै वृद्धि गर्न खर्च बढाएर ४० करोड डलर (करिब ४४ अर्ब ८० करोड रुपैयाँ) पुर्‍याउन आवश्यक छ,’ शरणले भने, ‘त्यो चुनौतीपूर्ण भए पनि नयाँ सरकारले पुँजीगत खर्चलाई प्राथमिकता दिएकाले सकारात्मक प्रगतिको संकेत छ ।’ वार्षिक करिब ४५ अर्बभन्दा माथिको खर्च हुने विषयमा आफू आशावादी रहेको पनि उनले बताए । 

तर, परियोजनाको ठेक्का लागेको रकममा भने वृद्धि भएको छ । उसको कुल सहयोग प्रतिबद्धतामध्ये २ खर्ब रुपैयाँको ठेक्का लागिसकेको उसले जनाएको छ । यो कुल सहयोगको ६४ प्रतिशत हो । 

उत्कृष्ट परियोजनालाई पुरस्कार
शुक्रबार एडिबी र अर्थमन्त्रालयले आयोजना गरेको पोर्टफोलियो समीक्षा कार्यक्रममा अर्थसचिव राजन खनालले उत्कृष्ट परियोजनाहरूलाई पुरस्कृत गरेका छन् । उत्कृष्ट परियोजना व्यवस्थापन पुरस्कारबाट ग्रामीण कनेक्टिभिटी सुधार कार्यक्रम, सीप विकास कार्यक्रम र क्षेत्रीय सहरी विकास कार्यक्रम पुरस्कृत भए । त्यस्तै, उत्कृष्ट खरिद व्यवस्थापनमा विद्यालयहरूको विपद् अनुकूलन कार्यक्रम, काठमाडाैं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना– थप सहयोग पुरस्कृत भएका थिए । सन् १९६६ देखि हालसम्म एडिबीले नेपालमा ५ अर्ब ८० करोड अमेरिकी डलर सहयोग गरिसकेको छ । नयाँ पत्रिका दैनिकबाट 

प्रतिकृया दिनुहोस्