बैंकिङ क्षेत्रको सात महिनासम्मको निक्षेप रकम ३० खर्ब ८४ अर्ब

काठमाडौं - बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ३० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनासम्ममा २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुले चार हजार छ सय ४४ वटा शाखामार्फत ३० खर्ब ८४ अर्ब ९० करोड ६३ लाख २० हजार रुपैयाँ निक्षेप सङ्कलन गरेका हुन् ।यसअवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले २७ खर्ब ६१ अर्ब ८४ करोड ३२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र चालू आवको माघ मसान्तसम्म २६ खर्ब ७६ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् ।

वाणिज्य बैंकहरुले आफ्नो सातवटै प्रदेशमा रहेका तीन हजार दुई सय ६६ वटा शाखामार्फत उक्त परिमाणमा निक्षेप सङ्कलन गरेका हुुन् । यस अवधिमा वाणिज्य बैंकहरुले २३ खर्ब ८९ अर्ब १० करोड २९ लाख ६०० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुले भने चालू आर्थिक वर्षको माघ मसान्तसमा तीन खर्ब ४१ अर्ब १९ करोड १५ लाख ९० हजार रुपैयाँ निक्षेप सङ्कलन गरी तीन खर्ब आठ अर्ब ७९ करोड ४० लाख दुुई हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले देशभर छरिएर रहेका ११ सय ८१ वटा शाखामार्फत उक्त परिमाणमा निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरेका हुन् । फाइनान्स कम्पनीहरुले भने यस अवधिमा ६७ अर्ब ३७ करोड १६ लाख २० हजार रुपैयाँ निक्षेप सङ्कलन गरी ६३ अर्ब ९४ करोड ६९ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

फाइनान्सहरुले सबै क्षेत्रमा छरिएर रहेका आफ्ना एक सय ९७ वटा शाखामार्फत उक्त परिमाणमा निक्षेप सङ्कलन तथा कर्जा परिचालन गरेका हुन् । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी भने यस अवधिमा दुई खर्ब ९८ अर्ब ७३ करोड ५९ लाख १० हजार रुपैयाँ पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी दुई खर्ब ४५ अर्ब २३ करोड ९८ लाख ८० हजार रुपैयाँ पुगेको छ भने विकास बैंकहरुको कुल चुक्ता पुँजी ३९ अर्ब ६० करोड ७८ लाख ८० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी भने १३ अर्ब ८८ करोड ८० लाख पाँच हजार रुपैयाँ पुगेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्