सहयोगी विकास बैंकमा अध्यक्ष झाद्वारा नियमविपरीत समानान्तर सीईओ नियुक्त

काठमाडौं - क्षेत्रीय स्तरको तीन जिल्ले विकास बैंकको रुपमा जनकपुरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको सहयोगी विकास बैंकमा अध्यक्ष उदयकान्त झाले नियमविपरीत बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ)  नियुक्त गरेको तथ्य खुुलेको छ । बैंकमा प्रमुुख कार्यकारी रहेको अवस्थामा नै झा आफ्नो स्वार्थसिद्ध हुुने र आफ्नो अनुकूलको कामहरु गर्नको लागि उनले समानान्तर सीईओको रुपमा सुन्दर खड्कालाई नियुक्ति दिएको स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार अध्यक्ष झाले प्रमुख कार्यकारी अधिकृतलाई बाइपास गर्दै बैंकको व्यवस्थापन तहको साना ठूला सम्पूर्ण कामहरु डेपुटी सीईओ खड्कामार्फत गराउँदै आएका छन् । न्यूनतम योग्यता पनि नपुुगेका खड्कालाई डेपुुटी सीईओ नियुक्त गरी प्रमुख कार्यकारीको सम्पूर्ण अधिकार डेपुटी सीईओलाई दिनु राष्ट्र बैंकको नियमविपरीत हो, स्रोतले भनेको छ । गैरकानुनी रुपमा डेपुटी सीईओ नियुक्त गरेपश्चात् बैंकमा संस्थागत सुशासनको पक्ष पनि निकै कमजोर भएको दाबी पनि स्रोतले गरेको छ ।

बैंकमा अध्यक्ष झाले गरेको बदमासीविरुद्ध समाचारहरु आउन थालेपछि यही फागुुन २३ गते सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैंठकमा पनि अध्यक्ष झानिकट केही सञ्चालकहरु मात्र सहभागी भएको बैंकको बारेमा पछिल्लो समय सञ्चारमाध्यममा आएको समाचारहरु आएपश्चात् नेपाल राष्ट्र बैंक सुुपरिवेक्षण विभागले सात दिनभित्र बैंकहरुको सम्पूर्ण वस्तुस्थिति पठाउन गरेको पत्राचारहरुको विषयमा पनि छलफल भयो, स्रोतले भनेको छ ।

साथै उक्त बैंठकमा राष्ट्र बैंकलाई कस्तो जवाफ पठाउने भन्ने समेतको बारेमा छलफल भएको थियो । स्रोतका अनुुसार बैंकमा झाको अध्यक्षतामा शरदचन्द्र सुवेदी, दिपेन्द्र कुमार यादव, डिल्लीप्रकाश घिमिरे र गिरीधारी शर्मा भुसालसहितको पाँच सदस्यीय सञ्चालक समितिको रहेको छ । तर उक्त बैंठकमा झा निकट तीन जना सञ्चालक मात्र आएका थिए, सर्वसाधारण सेयरधनी समूहका तर्फबाट सञ्चालक रहेको दिपेन्द कुमार यादव र अर्का एक सञ्चालक आएका थिएन, बैंक स्रोतले भनेको छ ।

पछिल्लो समय बैंकमा अध्यक्ष झाको दादागिरी बढेको, बैंकलाई एकलौटी ढंगबाट चलाएको र व्यक्तिगत स्वार्थबाट प्रेरित भएर बैंकको स्रोत साधनको चरम दुरुपयोग भएको भन्दै बैंकमा सेयरधनी एवं निक्षेपकर्ता ग्राहकहरु बैंकको सञ्चालन एवं व्यवस्थापन पक्षसँग रुष्ट बन्दै गएका छन् । सोही आधारमा धेरै सेयरधनीहरुले सेयर बिक्री गरेको, निक्षेपकर्ताहरुले पनि बैंकबाट आफ्नो निक्षेप झिकेर अन्य बैंकमा राख्न थालेको दाबी पनि स्रोतले गरेको छ ।

यिनै विवादको बीचमा बैंकले यही फागुन २५ गते शनिबार आफ्नो १५औं वार्षिक साधारणसभा गरेको छ । जनकपुरको होटल मानकीमा भएको वार्षिक साधारणसभामा बैंकप्रति आम सेयरधनीहरुले निकै आक्रोश पोखेको समेत स्रोतले बताएको छ । कर्मचारीहरुको सरुवा, बढुवा, नयाँ कर्मचारी छनौट र नियुक्ति, उनीहरुलाई दिइने सेवा सुविधा र भत्ता समेतको निर्णय अध्यक्ष झाले गर्ने गरेका छन् । यसैगरी निक्षेपमा दिने ब्याज, कर्जा कसलाई दिने र कति ब्याज लिने, धितो लिने नलिनेलगायतका विषयमा समेत आफ्नो स्वार्थसिद्ध हुने गरी आफ्नो आफन्त, नातेदार र आफ्नो स्वार्थ पूरा हुने किसिमबाट मात्र काम गर्ने गरेको दाबी समेत बैंक उच्च स्रोतले गरेको छ ।

बैंक व्यवस्थापनलाई स्वतन्त्ररुपमा काम गर्न नदिने र स्वेच्छाचारी ढंगले बैंक चलाएको भन्दै अध्यक्ष झाविरुद्ध नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागमा समेत उजुरी परेको थियो । अध्यक्ष झाले हुुकुुमी शैलीमा बैंक चलाउने गरेको बैंकको व्यवस्थापनले गर्ने हरेक निर्णय तथा कामहरुलाई आफ्नो अनुकूल भए कार्यान्वयनमा लाने र आफ्नो स्वार्थसिद्ध नहुने अथवा प्रतिकूल देखिए कार्यान्वयन नै गर्न नदिने गरेका छन् , स्रोतले भनेको छ ।(आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्