राष्ट्र बैंकको निर्देशनप्रति बैंकहरूको अटेरी

काठमाडौं - नेपाल राष्ट्र बैंकले पटकपटक सचेत गराउँदा पनि बैंक तथा वित्तीय संस्थाहरूले जथाभावी कर्जा लगानी रोक्न सकेका छैनन् । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता (लगानी योग्य पुँजी)को अभाव भएपछि राष्ट्र बैंकले पटकपटक सचेत गराउँदा पनि बैंकहरूले अटेर गर्दै निक्षेप संकलनको तुलनामा कर्जा विस्तारमा आक्रामक बनेका छन् । वाणिज्य बैंकहरूले लगानी गर्ने प्रवृत्ति नसुधारेका कारण बैंकिङ प्रणालीले लामो समयदेखि तरलता अभावको समस्या भोगिरहनुपरेको छ ।

बैंकहरू ऋण लगानीमा आँफू संयमित भएको बताउँदै आए पनि तथ्यांकले भने बैंकहरूको व्यवहारमा सुधार नगरेको देखाएको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन महिनामा वाणिज्य बैंकहरूको कर्जा विस्तार बढेको छ भने निक्षेप संकलन घटेको देखिएको छ । यस अवधिमा वाणिज्य बैंकहरूको ७ अर्ब कर्जा लगानी भएको छ । फागुनको पहिलो सातासम्म २३ खर्ब ९१ अर्ब कर्जा लगानी गरेका बैंकले तेस्रो सातासम्म २३ खर्ब ९८ अर्ब कर्जा लगानी गरेका छन् । त्यस्तै, वाणिज्य बैंकहरूले फागुनको पहिलो सातासम्म २६ खर्ब ७९ अर्ब निक्षेप संकलन गरेका थिए भने तेस्रो सातासम्म ३ अर्बले घटेर २६ खर्ब ७७ अर्बमा सीमित भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ दशमलव ७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव ९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ११ दशमलव ९ प्रतिशतले, विकास बैंकहरूको १९ दशमलव ८ प्रतिशतले र वित्त कम्पनीहरूको १० दशमलव २ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २३ दशमलव ४ प्रतिशतले बढेको छ ।

माघ महिनामा वाणिज्य बैंकहरूले ४५ अर्ब कर्जा लगानी गरेका थिए । सो अवधिमा बैंकहरूले २१ अर्ब मात्र निक्षेप संकलन गरेका थिए । चालू आर्थिक वर्षको साढे सात महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरूले २ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकले देखाउँछ । बैंकहरूले निक्षेप संकलनको तुलनामा ८० अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् ।

बैंकहरूले निक्षेप संकलनको तुलनामा आक्रामक रूपमा कर्जा लगानी गरिरहेको अवस्थामा राष्ट्र बैंकले भने निक्षेप ल्याउन बैंकहरूलाई बाटो खोलिदिएको बताएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘बैंकहरूले प्राथमिक पुँजीको सतप्रतिशत ऋण ल्याउन बाटो खोलेका छौं ।’ पहिले प्राथमिक पुँजीको २५ प्रतिशत पछि २५ प्रतिशत थपेर ५० प्रतिशत बनाएको थियो भने अहिले सतप्रतिशत ऋण ल्याउन पाउने व्यवस्था छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले विदेशबाट ऋण ल्याउन भने सकेका छैनन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको सीसीडी ८० प्रतिशतको हाराहारीमा पुगेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकको सीसीडी रेसियो ७८ प्रतिशत पुगेको छ । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्