जनता बैंकले रामेछापको दोरम्बामा गर्यो निःशुल्क स्वास्थ्य शिविर, १ हजार बढीको स्वास्थ्य परीक्षण

काठमाडौ - जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर,आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखाअस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । क्यान्सर सम्बन्धि सचेतना कार्यक्रममा रोज फाउण्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको बैंकले जनाएको छ । उक्त स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीकोे स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नु पर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्