लाइफ इन्स्योरेन्स कर्पोरेशनले ल्यायो 'जीवन साथी' बीमा योजना

लाइफ इन्स्योरेन्स कर्पोरेशनले ल्यायो 'जीवन साथी' बीमा योजना
काठमाडौँ - लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी नेपाल) लिमिटेडले जीवन साथी नामक नयाँ बीमा योजना सार्वजनिक गरेको छ । फागुन १ गते एक समारोहका बीच बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सो बीमा योजना सार्वजनिक गरेका हुन् ।
१८ देखि ६० वर्षसम्मका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको कम्पनी सचिव विनोदकुमार भुजेलले बताए । अधिकतम बिमाङ्क सीमा बीमा अण्डरराइटिङ नियमअनुसार जतिपनि लिन सकिनेछ । यस योजनामा बीमा अवधि १० वर्षको हुने कम्पनीले जनाएको छ ।
बीमा अवधिमा बिमितको निधन भएमा बिमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिको लागि निजको श्रीमान्र श्रीमतीलाई बीमाङ्कको अधिकतम ७५ लाखसम्म दुर्घटना लाभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध गराइने छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलपी दासले यस बीमा योजना मार्फत आफ्नो जीवन साथीप्रति अपार माया र स्नेह दर्शाउँदै परिवारमा वित्तीय सुरक्षा प्रदान गर्न सकिने बताए ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष खस्तिदारले नयाँ बीमा योजनाका बारेमा प्रकाश पारेका थिए । नेपालमा प्रायः पुरुषहरुले मात्र जीवन बीमा लिने गरेको र महिलाहरुको ठूलो हिस्सा जीवन बीमाबाट बञ्चित रहने चर्चा गर्दै उनले त्यस्ता महिलाहरुलाई पनि निःशुल्क रुपमा बीमा जोखिम प्राप्त होस् भनेर कम्पनीले जीवन साथी योजना बजारमा ल्याएको बताए ।

प्रतिकृया दिनुहोस्