नबिल बैंकको ३४५ लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, साधारण सभा फागुन २७ मा

काठमाडौं - नबिल बैंक लिमिटेडको ३४ प्रतिशत लाभांश पाउन सेयरधनी बन्ने सोमबार अन्तिम दिन हो । बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी जम्मा ३४ प्रतिशत लाभांश पारित गर्न फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ । यसका लागि मंगलबार (फागुन १४ गते) बुक क्लोज हुने भएकाले लाभांश सुरक्षित गर्न सोमबारसम्म सेयरधनी बनेको हुनुपर्नेछ ।

बैंकले साविकको एनआइडीसी डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने एजेन्डा पनि साधारण सभामा पेश गर्ने भएको छ । साथै, बैकको आर्थिक वर्ष २०७४÷७५ को नाफा नोक्सान हिसाब स्वीकृत गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको वित्तीय विवरणसहित एकीकृत वित्तीय पारित गर्ने, लेखा परिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्तावहरु रहनेछन् ।

साधारण सभा फागुन २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । हाल यसको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । प्रस्तावित १२ प्रतिशत बोनस सयेर वितरणपछि चुक्ता पुँजी ९ अर्व ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्