सदर चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन, इन्भेस्टमेन्ट बैंकको ५० लाख सहयोग !


काठमाडौँ - जावालाखेल स्थित सदर चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन भएको छ । वन तथा वातावरण मन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले मंगलबार केन्द्रको उद्घाटन गरेका हुन् । सो समारोहमा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व गरेकोे थियो ।

समारोहमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. बी.एन. ओली, राष्ट्रिय प्रकृति संरक्षण कोष(सदर चिडियाखानाको परियोजना व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेल तथा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष २०७४/७५मा ११ लाख ५९ हजार ११४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम सञ्चालित गरिने सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’ मा हाल काठमाडौं उपत्यका भित्रका १२३ विद्यालयका ८० हजार विद्यार्थीहरू सदस्य भइसकेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो संगठित व्यावसायिक उत्तरदायित्व रणनीति अन्तर्गत नेपाल प्राकृतिक संरक्षण कोषको यस कार्यमा सहकार्य गरेको छ । नेपालको एकमात्र चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्न स्वेच्छिक सहयोग गरेको हो ।

प्रविधिको प्रयोगबाट सिकाईको अनुभवद्वारा बढाउन सकिन्छ भन्नेमा विश्वास नेपाल इन्भेस्टमेन्ट बैंकले लिएको छ । चिडियाखानामा संरक्षण र सार्वजनिक शिक्षा, विशेषतः युवा पिढीका लागि सूचना केन्द्रको आवश्यकता देखिएको छ ।

त्यसैले नेपाल इन्भेस्टमेन्ट बैंकले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ५० लाखको वित्तीय सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । जसले अन्ततः केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्